नेपाली

जाजरकोट भूकम्पबाट मर्नेको सङ्ख्या १३३ पुग्यो

CRIPublished: 2023-11-04 15:29:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कात्तिक १७ गते राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ। नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन्। यसैगरी, रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन्। थप विवरण आउने क्रम जारी छ।

राहत र उद्धारको कार्यलाई पनि तीव्र पारिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सबै संयन्त्रलाई परिचालन गर्नु भएको छ।

भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानुभएको हो।

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ। यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ। उहाँले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको बताउनु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

Share this story on

Messenger Pinterest LinkedIn